नाम महात्म्य
by Manoj Dumaru | मनोज दुमरु on February 18, 2020
साथि: “हेल्लो कहाँ छस्?”
म: “भाटभटेनीमा”
साथि: “कुन भाटभटेनी”
म: “कस्तो कुन भाटभटेनी? म भाटभटेनी परिसरमै छु”
साथि: “कुन भाटभटेनी भन न”
यो संवादमा फोनमा बोल्ने साथिले भाटभटेनी डिपार्टमेन्ट स्टोरको कुरा गर्दैथ्यो। जबकी म भाटभटेनी मन्दिरको कुरा गर्दै थिएँ। हामी सानो छँदा नक्सालबाट बालुवाटारतिर जाँदा देब्रेतिर यौटा मन्दिर हुन्थ्यो, जुन अहिले पनि यथावत छ। त्यही मन्दिर भाटभटेनी मन्दिर हो र त्यस ठाउँलाई भाटभटेनी नै भनिन्थ्यो। त्यही मन्दिरको अर्को कुनामा खोलिएको डिपार्टमेन्ट स्टोरले भाटभटेनी नामबाटै ब्यापार सुरु गर्यो र आज भाटभटेनी डिपार्टमेन्ट स्टोर यौटा ब्र्यान्ड बनेको छ जसको शाखाहरू देशैभरि फैलिएका छन्।
यहि दौरानमा भाटभटेनी अब मन्दिरको नाम नभएर यौटा डिपार्टमेन्ट स्टोरको नाम बन्यो। काठमाडौं लगायत नेपालका अन्य ठाउँका मान्छेहरु जसले भाटभटेनी डिपार्टमेन्ट स्टोरलाई चिनेको छ, तिनिहरू अधिकांशलाई भाटभटेनी भन्ने नाम यौटा मन्दिरको नाम हो भन्ने थाहा नै छैन। काठमाडौका पुराना स्थानीय बासिन्दाले पनि यो कुरा बिस्तारै बिर्सिंदै गएका छन् भने काठमाडौमा नयाँ बसोबास गर्न आएकालाई झन थाहा हुने कुरै भएन। नयाँ पुस्ता त झन भाटभटेनी भन्ने बित्तिक्कै त्यै डिपार्टमेन्ट स्टोर मात्रै बुझ्छन्।
यस्तै केही दशक अघिसम्म पनि एप्पल (Apple) भन्नाले स्याउ बुझिन्थ्यो। तर अहिले एप्पल भन्नाले मोबाइल कम्पनीको नाम पनि बुझिन्छ।
अब यहाँनिर यौटा प्रश्न। पुराना मठमन्दिर, प्राकृतिक धरोहर, आदिका नामहरु सापटी लिँदा त्यस्ता नामको महत्व नै बिलय हुने वा परिवर्तन हुने सम्भावनालाई कसरी सामना गर्ने? भाटभटेनी र एप्पलका नामबाट चलेका सँस्थाहरु अनन्त कालसम्म पक्कै नरहला। समय र बजारको परिवर्तनशिलताकासाथ यी सँस्थाहरुका नाम पनि भविष्यमा बिस्तारै परिवर्तन भै नै हाल्ला।कुनैबेला बजार पिटेको ब्ल्याकबेरी (Blackberry) अहिले छैन, तर ब्ल्याकबेरी नामको फल त जहिले पनि ब्ल्याकबेरी नै रहनेछ। तर देशकै कुनै भौगोलिक खण्डको नामाकरण एकपल्ट गरिएपछि परिवर्तन गर्न वा हुन शताब्दियौं लाग्न सक्छ।
२०६२/६३ को जनआन्दोलनको उपलब्धि स्वरुप संघीय लोकतान्त्रिक बिधिअनुरुप संविधान सभाबाट संविधान समेत बनाएर नेपाल प्रादेशिक संरचनामा गैसकेको छ। नेपालको संविधान २०७२ ले तय गरेबमोजिम सातै प्रदेशमा प्रादेशिक संसद गठन भएर जिम्मेवारी बाँडफाट पनि भैसकेको छ। प्रादेशिक संसदले सुरुमै गर्नुपर्ने बिभिन्न कामहरुमध्ये प्रदेशको नामाकरण यौटा मुख्य काम हो। चारवटा प्रदेशका संसदले त नामाकरण पनि गरिसकेका छन्; बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम। बाँकी प्रदेशहरुमा नामाकरणको बहस जारी छ। यसरी नामाकरण गर्दा कुनै धरोहरको नाम सापटी लिने हो भने त्यस्तो धरोहरको पहिचान र महत्व संकटमा नपरोस् भनेर ध्यान दिनु अत्यन्त जरुरी छ।
उदाहरणका लागि प्रदेश १ मा बहसमा आएका बिभिन्न नामहरुमध्ये कोशी र सगरमाथा पनि हुन्। प्रदेशको नाम कोशी वा सगरमाथा भएमा ५० बर्ष पछिका जमातले कोशी नेपालकै ठुलो नदी वा सगरमाथा संसारकै सबैभन्दा अग्लो हिमाल हो भनेर बुझ्छन कि बुझ्दैनन, यो कुराको हेक्का राख्न अत्यन्त जरुरी छ। हामी भन्दा पछिका पुस्ताले यी नामहरु लिने बेलामा ती नामहरुको महत्व बुझ्ने अवस्था हुन पक्कै जरुरी छ। इतिहास शिरोमणि बाबुराम आचार्यले संसारकै सबैभन्दा अग्लो हिमालको नाम सगरमाथा भनेर जुराउँदा प्रदेशको नाम पनि सोही होला भनी पक्कै सोचेका थिएनन् होला।
२०७६ फागुन ६ गते, मंगलबार
Leave a Reply