माघ महिनाको एक बिहान
by Manoj Dumaru | मनोज दुमरु on November 30, 2002
ड्याङ…… ड्याङ……। रात बित्न केही समय बाँकी नै थियो। भाले अझै बासेको थिएन। रातको चिसो शून्यतालाई अकस्मात् चिर्दै आएको आवाजले कृष्णमाया मीठो निद्राबाट झसंग ब्यूँझिइन्। उनको मुटु ढक्क फुल्यो। मनमा खुलदुली मच्चिन थाल्यो। बाहिर अझै अँध्यारै थियो। माघको जाडोमा तातो सिरक चटक्क छोडी हाल्न मन लागेन उनलाई। तर फेरि निदाउन पनि सकिनन्। सँगै सुतिरहेका श्रीमान पनि अघिको आवाजले ब्यूँझी सकेका थिए। दुबै मुखामुख मात्रै गरिरहे। दुवैको अनुहारमा त्रास स्पष्ट झल्कन्थ्यो।
बिस्तारै प्रभातको किरणले चिसो रातलाई छिचोल्दै बिहानीको आभाष दिन थाल्यो। कृष्णमाया अब भने खातबाट झरिन् र पँधेरोबाट पानी ल्याउन गाग्री बोकेर बाहिर चोकतिर लागिन्।
बाहिर डम्म कुहिरो लागेको थियो। दस पाइला परसम्म पनि केही देखिँदैनथ्यो। कृष्णमाया पँधेरोमा पुगेर पानी भर्न लाग्दा छिमेकी आइमाईहरु पनि त्यहाँ पानी भर्न जम्मा भैसकेका थिए। सबैको अनुहारमा एकै प्रकारको त्रास झल्कन्थ्यो। एक आपसमा बोल्न समेत धक मानिरहेका थिए। उनले पनि कसैलाई केही भन्न सकिन। छिँडीमा रहेको घ्याम्पोमा पानी भरि सकेर नुहाइ धुवाइ गरी खानेपानी भर्न फेरी गाग्री लिएर पँधेरोमा गइन्। गाग्री मस्काइ वरी सफा गरी पानी भरेर भान्छा कोठामा पुर्याइन्। सधैँझैं कौसीमा रहेको गमलाबाट फूलहरू टिपेर ल्याइन् र पूजा थालीमा पूजा सामाग्री तयार गरी मन्दिर जान तयार भइन्।
बाहिर कुहिरो बाक्लिँदै थियो। ढाकाको खास्टो ओढेर थुरथुर काम्दै नजिकैको टेंगल गणेश थानमा पुगिन्। मंगलबार परेकोले गणेश थानमा स्वाभाविकरूपले भीड लागेको थियो। लाम लागेर भगवान गणेशको दर्शन र पूजा सकेर सिधै रक्तकाली मन्दिरतिर लागिन्। रक्तकालीको दर्शन सकेर उनी ढल्कोको बाटो हुँदै शोभाभगवती मन्दिरतिर लागिन्। बाटोमा मान्छेहरूको गाइगुईंले उनलाई अझै त्रसित बनाइरहेको थियो।
शोभाभगवती मन्दिर वरपर ठूलो भीड लागेको थियो। बाक्लो कुहिरो लागेकोले टाढाबाट उनले राम्ररी केही देख्न सकिन। भीडलाई छिचोल्दै उनी अगाडि बढिन्। विष्णुमतीको कलकल बग्दै गरेको चिसो पानीमा हात गोडा र मुख धोइन्। विष्णुमती खोला तर्न राखिएको साँघु माथिबाट खोला तरेर पारीपट्टि पुगिन्। भचाखुसि नजिकिँदै जाँदा अझ बाक्लो भीड देखियो। कुहिरो केही कम हुन थालेकोले अब भने उनलाई अगाडि के छ भनी ठम्याउन गाह्रो भएन।
भचाखुसीको बगरमा बाँसका खम्बाहरुमा दुईवटा लासहरु बाँधिएको थियो। दुइटै लासको छातीबाट बगेको रगत भचाखुसीमा मिसिँदा त्यहाँ रगतको खोला बगेको जस्तो देखिन्थ्यो। सबेरै सुनिएको आवाज केको रहेछ भनी बल्ल उनले बुझिन्। दुइटै लासको छातीमा बन्दुकको गोलीले प्वाल पारेको थियो। एउटा लास अलि पाको उमेरको मान्छेको जस्तो देखिन्थ्यो भने अर्को चाहिँ भर्खरको पट्ठो युवकको थियो।
अब भने भीडमा भएका प्रत्येक व्यक्तिलाई राम्ररी नियालेर हेर्न भ्याइन्। सबैका आँखा आँसुले भरिएका थिए । उनका आँखाबाट कति खेर आँसु झरेछ उनलाई थाहै भएन।
दुई तीन दिन अघि सिफल र पचलीमा पनि यस्तै किसिमले मान्छे मारिएको खबर सुनेकी थिइन् उनले। तर आज आफ्नै आँखा अगाडि त्यस्तो कहाली लाग्दो दृश्य देख्दा उनको मन छियाछिया भयो। उनको मुटुको ढुकढुकी बढ्न थाल्यो। मरेको मान्छे धेरै पल्ट देखेकी थिइन् । तर मारिएको मान्छे उनले देखेकी थिइनन्। ती लासहरू देश र जनहितका लागि आवाज उठाउनेहरुको भन्ने सुनेपछि उनको मन पनि आन्दोलित भयो।
“वीर शहीद अमर रहून्” भीडबाट नारा घन्किन थाल्यो।
कृष्णमायाले मन्दिरमा चढाउन ल्याएको फूल र अक्षता तिनै लासहरूमाथि चढाइन् र श्रद्धाञ्जलीका आँसु झार्दै घर फर्किन्।
“आज निकै बेर लगायौ नि बुहारी, मन्दिरमा भीड थियो कि क्या हो?” सासूको प्रश्नले उनलाई विचलित तुल्यायो। घरकी नयाँ बुहारी थिइन्, कृष्णमाया। भर्खर १६ वर्ष लागेकी उनको बिहे त्यसै साल मंसिरमा मात्रै भएको थियो। बिहे अघिको चञ्चलता र बालापनले सुटुक्क साथ छाडेर अकस्मात् आफूमा परिपक्वता छाएको अनुभव भएको थियो उनलाई। दुई महिना भित्रै सामाजिक र पारिवारिक दृष्टिमा एक सुशील बुहारीको रूपमा आफूलाई उभ्याइ सकेकी थिइन्।
सासूको प्रश्नको जवाफमा “हजुर…” मात्रै भनी उनी बुइगलतिर लागिन्। माथि कोठामा गएर टोलाई रहिन्। उनको मन ती दुइटा लासमा अल्झिरहेको थियो। तिनै लासहरू झलझली उनको अनुहार अगाडि आइरहेको थियो। उनी कसै सँग बोल्न सकिरहेकी थिइनन्। खाली टोलाइ मात्र रहेकी थिइन्। आँखाबाट अविरल बगिरहेका आँसुका धाराहरू वर्षा याममा खहरे बगेझैं लाग्दैथ्यो। मुटु अझै ढुकढुक भइरहेको थियो।
– – – –
“अजी ! अजी ! लिनोस्, दूध पिउनोस्। तात्तातो”, नातिनी बुहारीको आवाजले कृष्णमाया झस्किन्। “आ… यो अजीमाजू पनि सँधै टोलाएर बस्नुहुन्छ। ल दूध पिउनोस्। छिटो पिउनोस् नि फेरि यो जाडोमा छिट्टै सेलाउला”
छ दशकभन्दा अगाडिको त्यो बिहानीको सम्झना कृष्णमायाको मनमा अझै पनि आलै छ। अझै पनि त्यो बिहानीलाई सम्झेर उनी एकनासले टोलाएर बसी रहन्छिन्। आज पनि आँसुका धारा उनको चाउरिएको गालालाई स्पर्श गर्दै अविरल बगी रहन्छन्।
(यो कथा देशका वीर शहीदहरू प्रति समर्पण गर्छु। २०५९ साल मंसिर)
Leave a Reply